दैनिक बढ्दै छ सुनको मूल्य, २ लाखसम्म पुग्नसक्ने

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार ०७:३९

विराटनगर । नेपाली बजारमा सुनको मूल्य दैनिक रूपमा बढिरहेको छ । सुन प्रतितोला २ लाखसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।

सुनको मूल्य मंगलबार १ लाख ७० हजार २ सय कायम भएको थियो । सोमबार १ लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भयो । यसअघि कात्तिक ११ गते १ लाख ७१ हजार पुगेको थियो ।

सरकारले आयातमा लगाउँदै आएको भन्सार महसुल घटाएपछि सुन सस्तियो । सुनको मूल्य १ लाख ४८ हजार प्रतितोलासम्म भयो । मूल्यमा २ महिनासम्म उतावचढाव भयो ।

अहिले निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔँस सुनको मूल्य २ हजार ९ सय २१ डलर पुगेको थियो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले परिर्वतन गरेका नीतिका कारण सुनको मूल्य निरन्तर बढ्दै गएको बताइन्छ । अमेरिकाका राष्ट्रपतिले विभिन्न देशमा लगाउने भनेको भन्सार शुल्कका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको शाक्य बताउँछन् ।

उनका अनुसार यसरी नै बढ्दै गएमा केही दिनभित्रै सुनको मूल्य १ लाख ७५ हजार पुग्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर ३ हजार डलर पुग्ने देखिएको छ । त्यतिबेला नेपालीमा बजारमा प्रतितोला २ लाखसम्म पुग्ने अनुमान गरिएको शाक्यले बताए ।

नेपाली बजारमा पछिल्लो १ महिनामै मूल्य प्रतितोला १५ हजार रूपैयाँ बढिसकेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकमार्फत दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने सीमा निर्धारण गरेको छ ।

बैंकमा करिब १ सय ४५ किलो सुन मौज्दात रहेको बताइन्छ । बजारमा सुनको माग न्यून र मूल्य उच्च हुँदा बैंकमा मौज्दात रहेको हो । चालु आर्थिक वर्ष २०८१–०८२ को हालसम्म बैंकहरुले ७ सय ३२ किलो सुन आयात गरेका छन् ।

पछिल्लो समय निरन्तर सुनको मूल्य बढ्दा कारोबारमा कमी आएको छ । हाल दैनिक १० देखि १५ किलो सुन खपत हुने महासंघले जनाएको छ । विगतका वर्ष विवाहका बेला दैनिक २० देखि ३० किलोसम्म खपत हुने गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ताको क्रयशक्ति कमजोर भएर सुनको माग न्यून भएको महासंघले जनाएको छ । महासंघका अनुसार लगातार बढेको सुनको मूल्यले उपभोक्ता र व्यवसायी दुवैलाई असर पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.