
धरान । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको पक्ष लिएको भन्दै सुनसरीको धरानमा आज (आइतबार) १ जनालाई कालो मोसो दलिएको छ । मोसो दल्नुका साथै कुटपिटसमेत गरिएको हो ।
केबलकारको पक्षमा आवाज उठाउँदै आएका पदम चेन्जी माबोमाथि धरानमा अमानवीय हर्कत गरिएको हो । ताप्लेजुङ घर भएका उनलाई धरान उपमहानगरपालिका–९ पुतली लाइनमा कुटपिट गरेर कालो मोसो दलिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्षका कार्यकर्ताको संलग्नता पाइएको छ । माबो केबुलकार पक्षधर हुन् । उनले सार्वजनिक रूपमा केबलकारको समर्थन गर्दै आएका छन् ।
केबलकारको समर्थन गरेको र विरोध गर्नेलाई गालीगलौज गर्ने गरेका कारण कालो मोसो दलेर सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए । माबोलाई कालो मोसो दल्दा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, संघर्ष समितिका नेता जेन्टल लावतीलगायत उपस्थित थिए । करिब २ दर्जन व्यक्तिहरुले मोसो दलेका हुन् ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण भइरहेको छ । मुक्कुम्लुङ संघर्ष समिति त्यसको विरोधमा छ । तर, विरोधका नाममा केबलकारको समर्थन गर्नेहरुमाथि अमानवीय हर्कत पनि हुन थालेको छ ।
घटनाबाट पीडित बनेका माबोले भने आफूलाई दुर्व्यवहार गर्नेमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । उनले घटनामा संलग्नविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने बताएका छन् । कालो मोसो दलिएलगत्तै सुरक्षाका लागि भनेर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले घटनामा संलग्नको खोजी भइरहेको बताए । विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।


















