प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाको कलेज प्रशासनले विद्यार्थीको माग सम्बोधन गर्ने

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार २०:२१

विराटनगर । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केलिंगा इन्स्टिच्युट अफ इन्डिस्ट्रियल टेक्नोलोजीमा भएको घटनापछि उत्पन्न परिस्थिति साम्य पार्दै विद्यार्थीको माग सम्बोधन गर्न कलेज प्रशासन तयार भएको छ ।

नेपालका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जीव शर्मा र कलेजका फाउण्डर अच्युत समान्था, कलेजका उपाध्यक्ष शरणजीत सिंहबीच भएको वार्तामा कलेजले विद्यार्थीको सबै माग सम्बोधन गर्ने भएको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट घटनाबारे जानकारी लिन पुगेका एसएसपी शर्माले विद्यार्थीहरुको माग सम्बोधन हुने भएको र केहीदिनभित्रै कलेजमा अध्ययन सञ्चालन हुने जानकारी दिए ।

वार्तापछि शर्माले प्रकृति लम्सालको निधनपछि विद्यार्थीहरुले उठाएका मागहरु कलेजले सम्बोधन गर्ने सहमति वार्तामा भएको बताए । कलेजले भने विद्यार्थी लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

कलेजले घटना भएकोमा क्षमायचना गर्दै छात्रावासमा नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्ने २ सुरक्षा गार्डलाई समेत कारबाही गर्दै निष्कासन गरेको छ । अर्कोतर्फ घटना भइसकेपछि विद्यार्थीको सुरक्षाका लागि कलेजले विद्यार्थीहरुलाई बाहिर निकाल्नु परेको जनाएको छ ।

त्यसैगरी, कलेजले घटनामा दोषी देखिएकाहरुलाई कारबाही गर्ने र पीडित विद्यार्थीलाई क्षतिपूर्ति दिने जनाएको छ । एसएसपी शर्माले घटनाबारे कलेज आसपासमा रहेका करिब ६० जना नेपाली विद्यार्थीहरुसँग आफूले कुराकानी गरेको बताए । कलेजमा नेपालबाट १ हजार १ सय ८० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

लम्सालको मृत्युपछि अधिकांश विद्यार्थी भुवनेश्वरबाहिर विभिन्न स्थानमा रहेको उनको भनाइ छ । बुटबलकी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि उनलाई तनाव दिने कोलकाताका विद्यार्थी आरके श्रीवास्तवलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.