विज्ञान प्रदर्शनीमा सेन्टमेरिज प्रथम

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार १९:१८

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी उत्कृष्ट प्रस्तुतिका साथ सेन्टमेरिज बोर्डिङ स्कुल प्रथम भएको छ । 

प्रदर्शनीमा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्टमेरिज प्रथम भएको हो । शिक्षादीप सेकेन्डरी स्कुल द्वितीय, गोदावरी सेकेन्डरी स्कुल तृतीय र कान्तिपुर सेकेन्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए । 

त्यस्तै, विधागततर्फ ५ वटा विद्यालयलाई पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट विश्लेषण र प्रस्तुत आदर्श मावि, उत्कृष्ट विषयवस्तु एभरेष्ट मावि, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण बिकेभिएम स्कुल, उत्कृष्ट उद्यमशीलता डिएभी स्कुल र उत्कृष्ट स्टल सजावट अर्किड सेकेन्डरी स्कुल पुरस्कृत भए । 

प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । 

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे ।
२०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गतवर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए ।

यसवर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगानाले जानकारी दिए । 

मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गरेको थियो । स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरिएको प्रमुख निर्णायक नेपालले जानकारी दिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.