
दाङ । यौन प्रस्ताव अस्वीकार गर्दा मदिराको नशामा रहेका पुरुषले १ जना महिलाको हत्या गरेको घटना बाहिर आएको छ ।
दाङको लमही नगरपालिका–७ की संगिता चौधरीको हत्या भएको हो । हत्या आरोपमा १ जना पक्राउ परेका छन् । रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार चौधरीको हत्या आरोपमा तिलोत्तमा नगरपालिका–१२ का ४२ वर्षीय अजय भनिने अमिरिका थारूलाई पक्राउ गरिएको हो ।
घटना भएको ९ दिनपछि थारु पक्राउ परेको प्रहरीले जनाएको छ । चौधरी बुटवल उपमहानगरपालिका–११ कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्दै आएकी थिइन् ।
रूपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा गत फागुन ८ गते शव फेला परेको थियो । ढुंगाले प्रहार गरेर हत्या गरी परालको थुप्रोले छोपेर राखेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न थारुलाई यही फागुन १६ गते पक्राउ गरिएको डीएसपी कार्कीले बताए । चौधरी र थारु दुवै जना मजदुरी गर्थे । घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन (मापसे) गरेपछि थारुले चौधरीलाई यौन प्रस्ताव राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका थारूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

























