
विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा इन्स्पेक्टर (प्रहरी निरीक्षक) परिवर्तन गरिएको छ ।
उर्लाबारीको इन्चार्ज इन्स्पेक्टर हुन्छन् । त्यहाँ कार्यरत इन्स्पेक्टर राकेश यादवलाई कोशी प्रदेश प्रहरी गण रानी तानिएको छ । यादवको ठाउँमा बुधबार साँझबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर रन्जन बराललाई पठाइएको छ ।
उर्लाबारी क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढेका छन् । उर्लाबारी नगरपालिका–४ आइतबारेमा रहेको न्यू पाथीभरा ज्वेलर्समा फागुन १८ गते राति चोरी भएको थियो । रमेश विकले सञ्चालन गरेको सुनचाँदी पसलबाट २५ किलो चाँदीका गहना, २ तोला सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको थियो ।
त्यस्तै, गत माघ २१ गते बिहानका राति प्रहरी कार्यालयनजिकै रहेको मोबाइल पसलमा चोरी भयो । उर्लाबारी–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वल्र्ड नामक पसलबाट ३ करोड रूपैयाँभन्दा बढीको मोबाइल चोरी भएको प्रहरीले जनाएको छ ।
मोबाइल पसल नै खाली गरेर चोरी गरिएको उक्त घटनामा संलग्न हालसम्म पक्राउ परेका छैनन् । खोजी जारी राखिएको प्रहरीले जनाएको छ । मोबाइल चोरीमा भारतीय नागरिक संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ । पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएको प्रहरीको भनाइ छ ।
पछिल्लो समय चोरीका घटना बढेसँगै उर्लाबारी प्रहरीको भूमिका प्रश्न उठिरहेको छ । यद्यपि, मोबाइल पसलमा चोरी भएका बेला इन्स्पेक्टर यादव बिदामा थिए । सई चूडामणि पौडेल निमित्त प्रमुखको जिम्मेवारीमा थिए ।
कार्यसम्पादन क्षमता कमजोर भएको र शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन नसकेका कारण यादवलाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले बतायो । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले उर्लाबारीको इन्चार्ज केही समयका लागि परिवर्तन गरिएको जानकारी दिए ।
तत्कालको आवश्यकतालाई हेरेर इन्चार्ज परिवर्तन गरिएको उनले बताए । ‘कुनै कमजोरी वा बदमासी गरेर तानिएको हैन । कारबाहीको कुरा छैन । तत्कालको आवश्यकतालाई हेरेर इन्चार्ज परिवर्तन गरिएको हो,’ अधिकारीले भने । इन्स्पेक्टर यादव गत भदौ २८ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा हाजिर भएका थिए ।

























