
विराटनगर । भोजपुरमा हत्याका १ जना अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् । अदालतबाट २० वर्ष कैद सजायको फैसला भएका अभियुक्त पौवादुङमा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भोजपुर प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार शान्तकुमारसहित २ जनाले २४ वर्षअघि साविकको ठूलोदुम्मा गाविस–८ का विजयकुमार राईको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरिएका विजयको उपचारका क्रममा साउन १८ गते मृत्यु भएको श्रेष्ठले बताए ।
उनका अनुसार विजयको मृत्यु भएपछि हत्यामा संलग्नहरु फरार बनेका थिए । गाउँघरमा लुकिछिपी बसिरहेको सूचना प्राप्त हुनसाथ पक्राउका लागि टोली परिचालन गरिएको भोजपुर प्रहरी प्रमुख डीएसपी युवराज तिमिल्सिनाले बताए ।
उनका अनुसार खोजतलासका क्रममा फेला पारेर शान्तकुमारलाई आइतबार साँझ पौवादुङमा गाउँपालिकाको वास्तिमबाट पक्राउ गरिएको हो । हत्यामा संलग्नविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।
जिल्ला अदालत भोजपुरले २०६७ साल साउन १७ गते मुद्दाको फैसला गर्दै अभियुक्तलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । तर, जिल्लाको फैसलालाई सर्वोच्च अदालतले उल्टाइदियो ।
जिल्लाको फैसला उल्टाउँदै सर्वोच्चले २०६९ वैशाख २२ गते मुद्दाका अभियुक्तलाई दोब्बर अर्थात २० वर्ष कैद सजाय हुने फैसला सुनायो । हत्याको घटनामा अदालतले दोषी ठहर गरेर कैदको फैसला सुनाएको भए पनि शान्तकुमार र अर्का अभियुक्त सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार थिए ।
शान्तकुमारलाई पक्राउ गर्न सफल भएको प्रहरीले अर्का अभियुक्तको पनि खोजी जारी राखेको छ । शान्तकुमारलाई भने पक्राउ गरेर प्रहरीले अदालतमा पेस गरेको छ । अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको डीएसपी तिमिल्सिनाले बताए ।

























