
विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरिएको छ ।
विराटनगर महानगरपालिका–५ बाट सुनसरीको धरान उपमहानगरपालिका–८ का २३ वर्षीय कुवीर राई र २१ वर्षीय समीर राई पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तु २ ग्राम ७ सय ९० मिलिग्रामसहित दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु को २३ प ४२ नम्बरको मोटरसाइकलमा सवार थिए ।
त्यस्तै, सुनसरी धरान उपमहानगरपालिका–१३ अमरहाटबाट २४ वर्षीय धने राई पक्राउ परेका छन् । उनको साथबाट १ ग्राम २ सय २० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
झापाको कनकाई नगरपालिका–४ बाट ३३ वर्षीय इन्द्र चौधरी उनकी पत्नी ३२ वर्षीया ममता चौधरी पक्राउ परेका छन् । लागुऔषध गाँजा ८ किलोग्रामसहित पति–पत्नीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पाँचैं जनालाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























