
नवलपरासी । लागुऔषध ऐनअन्तर्गतको मुद्दामा दोषी ठहर भएका गाउँपालिका अध्यक्षलाई कैद र जरिबाना तोकिएको छ ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)लाई अदालतले १ वर्ष कैद र २ लाख रूपैयाँ जरिबाना गरेको हो । लागुऔषधको कारोबारमा मुछिएका गुप्तालाई जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता कसुरदार ठहर गरेको थियो ।
अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीका अनुसार बिहीबार सजाय निर्धारण भएको हो । साथै, क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा ८ हजार जरिबाना दाखिला गर्नुपर्ने फैसला पनि भएको रेग्मीले बताए ।
अध्यक्ष गुप्तासँगै लागुऔषधमा दोषी ठहर भएका रघुनाथप्रसाद धोबीलाई २ वर्ष कैद र ४ लाख रूपैयाँ जरिबानाको फैसला अदालतले गरेको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाइएका धोबीलाई २०७९ असोज २६ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । उनले
धोबी लागुऔषधमा पटक–पटक कसुरदार देखिएकाले थप १ वर्ष कैद र ५० हजार जरिबाना अदालतले तोकेको हो । धोबीले ‘क्षतिपूर्ति शुल्कपीडित राहत कोषमा १८ हजार रूपैयाँ जम्मा गर्नुपर्ने भएको छ । उनी पाल्हिनन्दन आधारभूत अस्पतालका गार्डसमेत हुन्।
अध्यक्ष गुप्तासहित लागुऔषध मुद्दामा ५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । जसमध्ये रामा गुप्ता भनिने रामा साह र जितेन्द्र पासवानले सफाइ पाएका छन् । पाल्हिनन्दन–३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे फरार छन् । पाण्डेको मुद्दा मुतलबीमा राखिएको छ ।
यसैबीच कैद र जरिवाना फैसला भएका अध्यक्ष गुप्ताले अब कानुनी व्यवस्थाअनुसार धरौटी राखेर पुनरावेदन गर्न पाउने छन् । थुनामा बस्नु नपर्ने भएपछि गुप्ताको अध्यक्ष पदसमेत कायम नै रहने अदालतले जनाएको छ।
२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा डाइजेपाम, नुर्फिन र फेनार्गन गरेर ९०–९० एम्पुल लागुऔषध रहेको झोला साह र पासवानको मोटरसाइकलनजिक फालेर फसाउन षडयन्त्र गरेको घटनामा अध्यक्ष गुप्ता दोषी ठहर भएका हुन् । साह र पासवान अध्यक्ष गुप्ताको व्यावसायिक साझेदार हुन् ।
कवाड व्यवसायको कारोबारमा उनीहरुबीच विवाद भएको बताइएको छ । त्यही रिसईबीका कारण गाउँपालिका अध्यक्ष गुप्ताले साह र पासवानलाई लागुऔषधमा फसाउन खोजेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

























