अवकाशमा जाँदैछन् आईजीपीसहितका प्रहरी अधिकारी, नयाँ आईजीपीको दौडमा ३ जना

Share this
602shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार १४:५४

विराटनगर । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ९ जना प्रहरी अधिकारी एकैपटक अवकाशमा जाँदैछन् ।

उनीहरु सोमबारदेखि अनिवार्य अवकाशमा जाने भएका हुुन् । तर, नयाँ आईजीपीको टुंगो अहिलेसम्म लागेको छैन । आईजीपी बन्ने दौडमा ३ जना छन् ।

आईजीपी कुँवरसहितका प्रहरी अधिकारी ३० बर्से सेवा अवधिका कारण सोमबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् । अवकाशमा जानेमा प्रहरी अनिरिक्त महानिरीक्षक (एआईजी)हरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनक भट्टराई छन् ।

त्यस्तै, प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु गणेश चन्द, भोला रावल, ध्रुवराज राउत पनि अवकाशमा जाने छन् । अवकाशमा जान लागेका सबै २०५१ साल चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

उनीहरूसँगै प्रहरी सेवामा प्रवेश गरेका एसपी (प्रहरी उपरीक्षक)द्वय श्यामकुमार राई र सञ्जयबहादुर राउत पनि यसअघि अवकाशमा गएका थिए । त्यसअघि उमेर हदका कारण ठूलो संख्या आईजीपी कुँवरकै ब्याजी एआईजी र डीआईजीहरू अवकाशमा गएका थिए ।

अब आईजीपी, एआईजीदेखि डीआईजी बढुवाका लागि प्रहरी अधिकारीबीच प्रधिस्पर्धा हुने छ । आईजीपीको प्रतिस्पर्धामा एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् । उनीहरुमध्ये १ जना प्रहरी संगठनको प्रमुख हुने छन् ।

तर, सरकारले अहिलेसम्म कसलाई आईजीपी बनाउने भन्ने टुंगो लगाइसकेको छैन । सम्भवतः सोमबारको मन्त्रिपरिषद् बैठकबाट त्यसको टुंगो लाग्ने छ । नयाँ आईजीपी यकिन भइसकेपछि सरकारले एआईजी र डीआईजी बढुवाको प्रक्रिया अघि बढाउने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.