
विराटनगर । नेपालीलाई प्रवेश निषेध रहेको क्यासिनोमा विराटनगरका दुई ‘गुण्डा’ समूहबीच कुटाकुट भएको छ । आइतबार राति १२ बजे रत्ना होटलको सम्राट क्यासिनो परिसरमा विवादास्पद पृष्ठभूमिका किरण लामा र रोनाल कँडेलसँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको हो ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ । गिरी क्यासिनो भित्र थिए, क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि कुटाकुट भएको हो । दुई समूहबीच कुटाकुट भएपछि प्रहरी पुगेको थियो । प्रहरी पुग्दा दुबै समूह भागिसकेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी बेदप्रकाश जोशीले होटलमा कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
उनका अनुसार आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले किरण लामा र रोनाल कँडेलविरुद्ध उजुरी दिएका छन् । निकेश विवादास्पद अभिषेक गिरीको भतिज हुन् । जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको बताउँदै उनले भने,‘ घटनाको अनुसन्धान भइरहेको छ ।’
के भएको थियो घटना ?
प्रहरी स्रोतका अनुसार आइतबार राति अभिषेक गिरी रत्नाको होटलको क्यासिनोमा थिए । राति करिब १२ बजे लामा र कँडेल क्यासिनोमा पुगे । बाउन्सरले उनीहरुलाई प्रवेश दिएनन् । रत्नाको क्यासिनोमा उनीहरुलाई प्रवेश निषेध छ । पटक–पटक प्रवेश गर्दै झगडा गरेका कारण उनलाई निषेध गरेको थियो ।
बाउन्सरले दुईलाई रोकेकै बेला निकेश गिरी सामान लिएर क्यासिनोमा प्रवेश गर्न खोजे । उनी अभिषेकका भतिज हुन् । बाउन्सरले उनलाई भित्र जान दिए पनि मदिरा सेवन गरेका लामा र कँडेलले रोके । त्यसपछि हामीलाई छिर्न नदिने भन्दै निकेशमाथि हातपात गरे । निकेशलाई कुटपिट गरेको देखेपछि अभिषेक गिरी क्यासिनोबाट बाहिर आएका थिए । उनी सधै ५–६ जनाको समूहमा हिड्छन् । ‘त्यसपछि दुई समूहबीच भनाभन पछि कुटाकुट भयो,’ प्रहरी स्रोतले भन्यो,‘दुवै पक्षका घाइते छन्, तर प्रहरी पुग्नुअघि भागे ।’ प्रहरी स्राेतका अनुसार कँडेलले गमलाले गिरीकाे टाउकाेमा प्रहार गरेका थिए ।
कुटाकुटपछि गिरीकाे समूह लामा र कँडेललाई खाेज्दै उनीहरुकाे घर पुगेकाे थियाे ।
किरण लामा एमालेको नवनिर्वाचित जिल्ला कमिटी सदस्य हुन् । मिटरब्याज असुलीको धन्धामा संलग्न उनलाई एमाले नेताहरुको संरक्षण छ । प्रहरी प्रशासनसँग राम्रो सम्पर्क बनाएका उनले जग्गाको कारोबार पनि गर्छन ।
कँडेल पटकपटक विवादमा आइरहन्छन् । मोरङ प्रहरीको रेकर्ड अनुसार उनी यसअघि सात पटक पक्राउ परिसकेका छन् । २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो । २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो । २०७७ सालमा उनी ठगी मुद्दामा पक्राउ परेका थिए । केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो ।
विराटनगर महानगरपालिका–११ का ३२ वर्षीय कँडेलसहितकाे समूहले पूर्वमन्त्री तथा नेकपा (एमाले)की नेतृ भगवती चौधरीका छोरा २८ वर्षीय द्रव्यराज चौधरी र उनका साथी २७ वर्षीय बालकृष्ण चौधरी गत भदौ १ गते आक्रमण गरेपछि ज्याज मार्ने उद्योगको जाहेरी परेको थियो । २०८० पुस २७ गते होटल बिगको क्यासिनो भित्र भएको विवादका कारण बाहिर कँडेलमाथि खुकुरी प्रहार भएको थियो । कँडेलको गुण्डागर्दी विराटनगरको बसपार्कबाट सुरु भएको थियो ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका अभिषेक गिरीमाथि नेपाली कांग्रेस नेताहरुको संरक्षण छ । युवतीलाई प्रयोग गरेर अपहरण गरी फिरौती मागेको आरोपमा गिरी २०७१ साल साउन तेस्रो साता पक्राउ परेका थिए । अपहरण मुद्दामा कैद भुक्तानपछि गिरी गत २०७९ चैत ६ गते कारागारबाट छुटे ।
कारागारबाट छुटेपछि उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय भएको देखाउँछन् । समाजेवी भएको दाबी पनि गर्छन् । कांग्रेसका कार्यक्रमहरुमा पनि देखा पर्छन् । कारागारबाट छुटेपछि उनले ‘गिरी फाण्डेशन’ खोलेका छन् । आँफै गुण्डागर्दीमा संलग्न भएको आरोप लागिरहने उनी‘कोशी सुधार अभियान’ पनि सञ्चालन गर्छन् । कारागारमा हुँदा चाैकीदार भएका गिरी पटक पटक विवादमा आएका थिए । कारागारबाट छुटेपछि पनि विवादमा आइरहेका छन् ।

























