
काठमाडौं । पछिल्लो समय राजावादी पक्षको चहलपहल बढेपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा देशभर अभियान सञ्चालन गर्ने भएको छ ।
प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो ।
एमालेले चैत ११ गते देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्नेछ ।
एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने बताएको छ ।
चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गर्नेछ ।
चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा जनसभा गर्ने बताएको छ । धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा प्रदर्शन र जनसभा हुने एमालेले बताएको छ ।
एमाले महासचिव शंकर पोखरेलले कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।
























