
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयमा आपत्ति जनाएको छ ।
सरकारले बदनियतपूर्ण र आपत्तिजनक निर्णय गरेर कुलमानलाई हटाएको पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादीले यसलाई ‘कुशासनको दृष्टान्त’ भनेको छ ।
‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो । यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । माओवादी केन्द्रले उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेको छ ।
सरकारले अन्यायपूर्ण र अपमानजनक निर्णय गरेको भन्दै माओवादीले उक्त निर्णय फिर्ता लिन आग्रहसमेत गरेको छ । कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि आरोप माओवादीले लगाएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति दुष्प्रचार गरिएको ठहर माओवादीले गरेको छ । साथै उक्त दुष्प्रचार खारेज गरिएको विज्ञप्तिमा जनाइएको छ ।
























