खगेन्द्र खरेलले मच्चाए पूर्वमा शृङ्खलाबद्ध बम आतंक

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार २१:२६

विराटनगर । सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि र बूढी खोला पुलनजिक बम राखेर आतंक सृजना गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

गत पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडि तथा सुनसरी र मोरङ जोड्ने बूढी खोला पुलनजिक बम राखेको सूचना प्रहरीलाई आएको थियो । प्रहरीले खोजी गर्दा उपमहानगरको कार्यालय अगाडि आतंक सृजना गर्नका लागि ‘होक्स’ राखेको फेला परेको थियो ।

त्यसबेला प्रहरीलाई बम राखेको भन्दै सूचना दिने झापा कनकलाई नगरपालिका– ८ का ४६ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेललाई प्रहरीले सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनीसँगै लक्ष्मीदेवी थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पुस १६ गते प्रहरीलाई बम राखेको सूचना दिएपछि खरेल भारत भागेका थिए । प्रहरीले खोजी गर्दा शंकास्पद वस्तु बम नभइ आतंक सृजना गर्न राखिएको ‘होक्स’ रहेको पुष्टि भयो ।

प्रहरीको रेकर्डमा खरेल पटके अपराधी हुन् । बम काण्डमा उनी यसअघि झापा र सुनसरीमा २ पटक पक्राउ परेर करागार चलान भइसकेका छन् । पछिल्लो मुद्दामा भने उनी गत असोजमा मात्रै छुटेका थिए ।

पुसमा आतंक सृजना गरेपछि चैतमा पुनः पक्राउ परे । प्रहरी स्रोतका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खरेललाई पक्राउ गरी सुनसरी प्रहरीको जिम्मा लगाएको हो । दुवै जनाविरुद्ध अनुसन्धान अघि बढाउन बिहीबार अदालतबाट ५ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए ।

प्रहरीका अनुसार २०७८ चैत  १४ गते इटहरी उपमहानगर– २ स्थित नवजागृति टोलमा बम विस्फोट हुँदा खरेल संलग्न थिए । त्यसबेला बम विस्फोट भएको घरमा हाल पक्राउ परेकी थापा डेरा बस्थिन् । त्योबेला सुतली बम विस्फोट हुँदा रविन थापा र लमजुङका शेरजङ गुरुङ घाइते भएका थिए । विस्फोटमा घाइते भएका २ जनासहित सञ्जय भनिने खगेन्द्र खरेल र डेरावाल लक्ष्मीदेवी थापा पक्राउ परेका थिए ।

सो मुद्दामा कारागार चलान भएका खरेल २०८१ असोज दोस्रो साता छुटे । पुसमा पुनः आतंक सृजना गरे । खरेल पक्राउ परेको घटना त्यो नै पहिलो भने होइन् ।

२०७६ वैशाखमा झापाको कनकाइ नदीको पुलमा खरेलकै समूहले बम राखेको थियो । त्यसबेला गोर्खा जनमुक्ति पार्टीको नाममा राखेको बम प्रहरीले ‘डिस्पोज’ गर्यो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले खरेलसहित ५ जनालाई पक्राउ गरेको थियो ।

कनकाईमा बम आतंक सृजना गरेको अभियोगमा पक्राउ परेका उनी २ वर्ष ५ महिना जेल बसेर छुटे । २०७८ माघ ९ गते झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड र १३ गते दमकस्थित शिवाना चर्चमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । सो घटनामा पनि खरेल संलग्न थिए ।

को हुन् खरेल ?

२०३४ साल वैशाख १७ गते ताप्लेजुङमा जन्मिएका खरेल बुबाआमासँगै भारत बस्थे । भारतमै पढेका र हुर्किएका खगेन्द्र सन् १९९७ मा भारतीय सेनामा भर्ना भएर केही वर्ष काम गरेका थिए । तर, बीचैमा उनले जागिर छाडेका थिए ।

भारतीय सेनामा आबद्ध हुँदा उनले बम बनाउन र हतियार चलाउन सिकेको प्रहरी स्रोतले बतायो । त्यसपछि उनी सन् २००८ मा नेपाल आए । डेढ वर्षपछि दुबई गएका खरेल ९ महिना बसेर नेपाल फर्किए ।

त्यसपछि उनी ‘ग्रेटर नेपाल’को अभियानमा सहभागी भए । सन् २०१३ मा अन्तर्राष्ट्रिय नापी विभागको गेटअगाडि बम विस्फोट गराएको घटनासमेत खरेलको संलग्नता थियो ।

पछिल्लो समय उनले हिमाल सुरक्षा परिषद् गठन गरेका थिए । गत पुसमा इटहरीमा बम आतंकपछि भारत भागेका उनले त्यसपछि नेपालका ३१ जिल्लामा बम राख्ने धम्की दिए । उनको यो धम्कीले सुरक्षा सम्यन्त्रलाई सतर्क बनाएको थियो ।

जिल्लामा बम राख्ने धम्की पछि खरेलले संघीय संसद भवनमा ड्रोन खसाल्ने धम्की पनि दिए । ‘यो मान्छे प्रविधिमा पोख्त छ । ह्वाटसपमार्फत पार्लामेन्टमा हिमाल सुरक्षा परिषद्को झण्डासहित ड्रोन उडाउछु भन्थ्यो । पटक–पटक आतंक सृजना गर्ने पटके हुन्,’ प्रहरी स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.