फायल तस्बिरविराटनगर । वन्यजन्तुको चोरीसिकारीमा संलग्न समूहका २ जनालाई प्रहरीले मोरङको केराबारीबाट पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट ३ नाल भरुवा बन्दुक बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएकालाई आइतबार साँझ ६ः५० बजेतिर पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन् ।
याक्खा र कार्कीको समूहमा रहेका केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार भएका छन् । प्रहरीलाई देख्नसाथ फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट ३ नाल अवैध भरुवा बन्दुक बरामद भएको जानकारी डीएसपी जोशीले दिए ।
उनका अनुसार तीनवटै बन्दुक लोड गरिएको अवस्थामा थिए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।
पछिल्लो समय उत्तरी मोरङका वनमा जंगली जनावरको चोरीसिकारी बढेको जनगुनासो प्रहरीमा पुग्ने गरेको छ । चोरी सिकारी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको डीएसपी जोशीको भनाइ छ । चोरीसिकारीमा संलग्न शंकास्पद व्यक्तिहरु देखिएमा प्रहरीलाई गोप्य रूपमा सूचना दिएर सहयोग गर्न पनि उनले सबैमा आग्रह गरेका छन् ।

























