
काठमाडौं । काठमाडौंको विश्वको पहिलो प्रदूषित सहर बनेको छ । प्रदूषित अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा काठमाडौं विश्वकै पहिलो स्थानमा छ । दोस्रो स्थानमा भारतको नयाँ दिल्ली छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज काठमाडौंको वायु गुणस्तर इन्डेक्स २७१ छ । जुन स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै हानिकारक हो ।
गत मंगलबार र शुक्रबार पनि विश्वकै प्रदूषित सहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो । सोमबार दोस्रो स्थानमा थियो ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । चिकित्सकहरूले यस्ता अवस्थाहरूमा सकेसम्म घरबाट बाहिर ननिस्कन, निस्किएको अवस्थामा मास्कको प्रयोग गर्नु सुझाव दिएका छन् ।

























