
काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज (मंगलबार) मतगणना सुरु भएको हो ।
पछिल्लो तथ्यांकअनुसार कांग्रेस–एमाले गठबन्धनका अध्यक्ष उम्मेदवार डा. विजय मिश्रले अग्रता लिएका छन् । महासचिवमा उनकै प्यानलका केदारप्रसाद कोइराला अगाडि छन् ।
मिश्रले ८६९ मत पाएका छन् । पर्साबाट ६६, हेटौंडाबाट ४१ र बागलुङबाट ५५ मत मिश्रको पक्षमा परेको छ ।
प्रतिस्पर्धी माओवादी केन्द्रका रमनकुमार श्रेष्ठले ५२९ मत पाएका छन् । उनले पर्साबाट ४४, हेटौंडाबाट २६ र बागलुङबाट २५ मत पाएका छन् । श्रेष्ठको गृहजिल्ला बागलुङबाटै उनको पक्षमा कम मत देखिएको छ ।
अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् ।
महासचिव पदमा मिश्र प्यानलका केदार प्रसाद कोइरालाले ८७१ मत पाएका छन् भने श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन् ।

























