
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनरत् शिक्षकहरूले आज (मंगलबार) दिउँसो टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका हुन् ।
महासंघले सोमबारदेखि शैक्षिक हडताल आह्वान गरेको थियो । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।
मंगलबार माइतीघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।
लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।
महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ ।
प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए ।

























