
काठमाडौं । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बीपी राजमार्गमा दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ। प्रहरी निरिक्षक गिरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् ।
बस चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले नियन्त्रणमा लिएको छ ।

























