
काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारमा बुधबार राति बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा–प्र–०६–००१ ख ०२७० नम्बरको बस अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखा भिमफेदीका अगुवा कृषक सवार थिए । घाइतेमध्ये भिमफेदी गाउँपालिका ३ बुम्लिङका ४६ वर्षीय श्रीराम बज्यू, भीमफेदी ५ ज्यामिरेकी रिता मगर, सोही स्थानका अनिल स्याङ्बो, भिमफेदी ६ की साने आले र भिमफेदी गाउँपालिकाकी कार्यपालिका सदस्य समित्रा लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेहरुको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको बकैयास्थित स्वास्थ्य केन्द्र, हेटौंडा अस्पताल र हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते भएका १० जना भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरीले बसका सहचालकलाई नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























