
विराटनगर । उदयपुरको कटारी नगरपालिका–२ स्थित सिमनापुर र कल्याणपुर जोड्ने पक्की पुल बैमौसमी बाढीले भाँचिदिएको छ ।
मिर्चैया–कटारी–घुर्मी सडक योजनाअन्तर्गत अमाह खोलामा निर्माणाधीन ५० मिटर लामो पक्की पुल हिउँदे झरीपछि आएको बाढीले भाँचिदिएको हो । पानी निकासाका लागि लगाइएको ‘ह्युमपाइप’ले बाढी थेग्न नसक्दा पुलको बीच भाग थुनिएको थियो ।
पुलको स्लाब ढलान २० दिनअघि मात्रै भएको थियो । बुधबार राति आएको सामान्य बाढीले ह्युमपाइप थुनेका कारण पुल भाँचिएको मिर्चैया–कटारी–घुर्मी योजनाका प्रमुख पशुपति ज्ञवालीले बताए ।
उनका अनुसार पुल भाँचिदा १ करोड ५० लाख हाराहारीको क्षतिको अनुमान छ । बाढीले पुर्याएको क्षति इन्स्योरेन्स (बिमा)ले बेहोर्ने छ । ‘माथि ढलान भएको २० दिन मात्रै भएको थियो । २८ दिनमा ‘स्टेचिङ’ गरेपछि पुलले भार थाम्न सक्थ्यो । एक्कासि आएको बाढीले ‘ह्युमपाइप’को मुख थुनेपछि भत्कियो,’ ज्ञवालीले भने ।
उनका अनुसार पुल निर्माण सम्पन्न गरेर असारअघि नै सञ्चालन गर्ने योजना थियो । भत्किएपछि निर्माणावधि थप लम्बिने भएको छ । पुलको माथिको स्लाब भत्किएका कारण स्लाब फेर्नलाई केही समय लाग्ने उनको भनाइ छ । सिद्धिचरण लोकमार्गअन्र्तगत निर्माणाधीन पुलको निर्माण सूर्य कन्सट्रक्सन धरानले गरिरहेको थियो ।

























