
काठमाडौं । देशका विभिन्न ४ वटा प्रदेशमा आज (शुक्रबार) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का, मध्यमदेखि भारी वर्षासमेत भइरहेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जसको असरले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ ।
कोशी र मधेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका १–२ दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम एवं १–२ स्थानमा भारी वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र मधेश प्रदेशको १–२ स्थानमा राति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण देशव्यापी रहिरहेको तुँवालो र वायु प्रदूषण क्रमिक रुपमा कम हुँदै गइरहेको छ । मौसममा हुने गडबडीका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।

























