
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद समयमा कानुन नबनाइदिँदा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आउनु परेको बताएका छन् । काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरूलाई सबै राजनीतिक दलहरूले आफ्नो कमजोरी स्वीकार्दै सामूहिक प्रयासबाट कानुन निर्माण गरी शिक्षकका माग सम्बोधन गरेर चाँडो भन्दा चाँडो कक्षा कोठामा विद्यार्थीहरूलाई पढाउन पठाउनुपर्ने बताए ।
शिक्षक आन्दोलनबारे भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले भनेका छन्, ‘शिक्षकहरूले आफ्ना माग राख्दै आन्दोलन सुरु गरेपछि सबै राजनीतिक दल आलोपालो सरकारमा बसिसक्यौँ । सरकारमा बस्दा कसैले पनि देखाउनु पर्ने तदारुकता देखाउन सकेनौँ । जसको कारणले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था बन्यो । हिजो भएको गल्ती कमजोरीलाई सबैले स्विकार्नुपर्छ । कसैलाई दोषारोपण नगरी सामूहिक प्रयासबाट शिक्षकका माग सम्बोधन गरी चाँडोभन्दा चाँडो उहाँहरूलाई कक्षा कोठामा पठाउनुपर्छ ।’
शिक्षकहरू देशभरबाट काठमाडौँमा आन्दोलन गर्न आउनु अहिलेसम्म सरकारमा बसेका र संसद्मा रहेका राजनीतिक दलहरूका लागि लज्जाको विषय भएको थापाले आफ्नो आन्दोलनबारे धारणा सार्वजनिक गर्ने भिडियोमा उल्लेख गरेका छन् ।
शिक्षकका माग संसद्ले बनाउने कानुनसँग जोडिएकाले संसद्ले समयमा आफ्नो काम गर्न नसक्दा यो अवस्था आएको उनले उल्लेख गरेका छन् । यसबारे कुनै राजनीतिक दलले अर्को राजनीतिक दललाई दोषारोपण गर्न आवश्यक नरहेको उनको भनाइ छ । अब सबैको सामूहिक प्रयासबाट शिक्षकहरूका माग सम्बोधन गर्न संसदबाट कानुन बनाउन सकिने थापाले बताएका छन् ।

























