
विराटनगर । झापाको दमकमा आज (शनिबार) सत्तारुढ नेकपा (एमाले)ले वृहत् जागरणसभा सम्पन्न गरेको छ ।
सभा सम्पन्न भएलगत्तै सभास्थलको सरसफाइ गरिएको छ । सभाको आयोजक एवं स्वयंसेवक परिचालन समितिका संयोजक पर्शुराम बस्नेतको नेतृत्वमा कार्यक्रमस्थलको सरसफाइ गरिएको हो ।
एमालेका सम्पूर्ण स्वयंसेवक आफैं सरसफाइमा खटिएका थिए । यसले कार्यक्रम गरिसकेपछि फोहोर त्यत्तिकै छाडेर हिँड्नेहरुलाई दबाब परेको छ । सभा आयोजनाका क्रममा कार्यक्रमस्थलमा थुप्रिएको फोहोर संकलन गरेर व्यवस्थापन गरिएको बस्नेतले बताए ।
एमाले कोशी प्रदेशका सचिवालय सदस्यसमेत रहेका बस्नेतले सभा सम्पन्न गर्न र सभा सकिएपछि सरसफाइमा खटिएका स्वयंसेवकहरुलाई विशेष धन्यवाद दिएका छन् । ‘कार्यक्रमस्थलमा थुप्रिएका सबै फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ । कुनै पनि स्थानमा कार्यक्रम सम्पन्न भइसकेपछि आयोजकले नै सरसफाइ गर्नुपर्छ र फोहोर छाड्न हुँदैन भन्ने सकारात्मक सन्देश दिन खोजेका हौं । कतिपय ठाउँमा कार्यक्रम गरेर त्यत्तिकै हिँड्ने चलन छ । त्यो राम्रो हैन । कार्यक्रम आयोजना भइसकेपछि सरसफाइ गर्ने दायित्व आयोजककै हो । सभा आयोजनादेखि कार्यक्रम सकिएपछि सरसफाइ गर्न सहयोग गर्नु हुने सबै स्वयंसेवकलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
जागरणसभामा करिब १ लाख कार्यकर्ता उतारिएको दाबी एमालेको छ । सभाको प्रमुख अतिथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली थिए । दमक ओलीकै गृहनगर हो ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् । विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएको’ टिप्पणी उनको भनाइ छ ।
‘देश अब कानुनअनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरु, आगजनी गर्नेहरुले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उत्साहित हुनु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाउँदैमा केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विगमा म प्रधानमन्त्री हुँदा स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । जनताको अभिमतबाट हामी पुनःसरकारको नेतृत्वमा आएका छौं । अब हामी स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन ।’

ओलीले निर्माण रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा विकासका आयोजनाले अब गति लिने जनाउँदै आगामी बजेट एवं नीति तथा कार्यक्रममा नयाँ ढंगले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने बताए । नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउँदै भने, ‘हामीले अध्यादेश हुँदै विभिन्न ५ महत्वपूर्ण कानुन ल्याएका छौं । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ । अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ ।’
भूमिहीन सुकुमबासीका समस्या समाधान गर्न आगामी संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने उनले बताए । ओलीले मुलुकलाई गरिबीबाट मुक्त गराउन वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गरे ।
फरक प्रसंगमा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दोहोर्याउँदै एमालेविनाको समृद्ध नेपालको सपना पूरा नहुने बताए । ‘एमाले अझ विशाल हुनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ,’ ओलीले भने ।
कोशी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीको जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साह तथा सक्रियताका साथ परिचालित हुनुपर्ने बताए । युवाहरुलाई आफ्नो देश आफैँले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको उनको भनाइ छ ।
एमालेले आगामी लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ओलीले ४० वर्षमुनिका युवालाई त्यसदिन काठमाडौं गएर राजतन्त्र पालेको र जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे । ‘एमालेको साथमा युवा छैनन् । एमालेमा युवा सकिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवालाई भेला पार्न सक्दैनन्,’ उनले भने, ‘युवाले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।’
एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराई उपस्थित कार्यक्रममा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतका वक्ताले सभामा मुलुकको समसामयिक अवस्था तथा पार्टी गतिविधिबारे मन्तव्य राखेका थिए ।
























