
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धका क्रममा मृत्यु भएका १७ हजार मानिसको हत्याको आरोप लागिरहन्छ । केही समयअघि उनले आफूले पाँच हजारकाे नैतिक जिम्मेवारी लिने बताएका थिए । शनिबार भने प्रचण्डले व्यक्तिगत रुपमा आफूले एक जनालाई पनि नपिटेको दाबी गरेका छन् ।
शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धको नैतिक जिम्मेवारी लिने बताउँदै आफूले व्यक्तिगत रुपमा एक जनालाई पनि नपिटेको बताएका हुन् ।
मुलुकलाई इतिहासको पछाडितिर धकेल्न चाहनेहरूले माओवादी केन्द्र र विशेषगरी आफूमाथि १७ हजार मानिस मारेको आरोप लगाइरहेको उनको गुनासो छ ।
‘यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्यो, विद्रोहीले कति के गर्यो भन्नेकुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ,’ उनले भने,‘ १७ हजार माओवादीले, अझ आज भोलि त भन्ने प्रचण्डले, हत्याको कुरा छाड्दिनुस् मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन।’
युद्धको नेतृत्व आफूले लिएको बताउँदै उनले भने,‘ शान्ति प्रक्रियामा आएपछि जनयुद्धको नैतिक जिम्मेवारी लिन्छु भनेकै छु ।’
‘ यति धेरै गलत आरोप लागिराख्दा विभिन्न बुद्धिजीवी, राजनीतिक दल, सात राजनीतिक दल कोही पनि बोलेको देखिएको छैन,’ उनले भने ।
























