
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (पूर्वआईजीपी) प्रदीपशम्शेर राणाको निधन भएको छ ।
विभिन्न रोगले थलिएका ७८ वर्षीय राणा केही समयदेखि उपचाररत थिए । उनको शनिबार राति निधन भएको पारिवारिक स्रोतले बतायो । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको प्रमुख बनेर काम गरेका हुन् ।
नेपाल प्रहरीको नेतृत्वमा राणा रहेकै बेला सशस्त्र प्रहरी बलको स्थापना भएको हो । सशस्त्रको स्थापना हुँदा संगठनका थुप्रै कर्मचारी सशस्त्रमा समायोजित भएका थिए ।
सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनमा राणाले प्रभावकारी भूमिका खेलेका थिए । इन्स्पेक्टर दर्जामा भर्ना भएर ड्युटीमा खटिनासाथ राणाले आफ्नै छोरालाई द्वन्द्वग्रस्त जिल्ला रोल्पामा खटाए ।
छोरा दीपशम्शेर राणाका अनुसार दिवंगत प्रहरीका पूर्वप्रमुख राणाको आइतबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

























