
काठमाडौं । शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ । शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली संवाद सकारात्मक भएको बताउँछिन् । शनिबारको छलफल पनि पराजुलीले भनिन्, ‘संवाद सकारात्मक छ तर निष्कर्षमा पुग्न सकिएन ।’ उनका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए ।
शिक्षकहरुले राखेका मागबारे मन्त्रिपरिषद्बाट निर्णय भएमा र शिक्षा ऐन जारी गर्ने सुनिश्चितता भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने उनले बताइन् । ‘क्याबिनेटले गर्ने निर्णय कुरा उहाँहरूको रहयो । विधेयकको काम रफ्तारमा गएको भन्नुभएको छ । ऐन जारी गर्ने सुनिश्चितता भयो भने आन्दोलनको मोडालिटी चेन्ज हुन सक्छ । तर मैले मात्र भनेर हुँदैन,’ उनले भनिन् ।
संसदको अबको अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक पेस गर्ने सत्तारुढ दलहरूले बताउँदै आएका छन् । यसमा विश्वासिलो आधार शिक्षकहरूले खोजेका छन् । ‘संसदको शिक्षा समितिको उपसमितिले छिटो काम सकाएर अधिवेशनको पहिलो साता ऐन जारी हुने विश्वासिलो आधार चाहिन्छ,’ उनले भनिन् ।

























