
काठमाडौं । वसन्तकालीन याममा नेपालका विभिन्न हिमाल र पिक आरोहण गर्नका लागि हालसम्म ४ सय ७५ जनाले अनुमति लिएका छन् । ५४ आरोही समूहका ९९ महिला र ३ सय ९८ जना पुरुषले आरोहण अनुमति पाएका हुन् ।
अनुमति पाउनेमा नेपाली र विदेशी नागरिक छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र १ सय ७८ पुरुष गरी कूल २ सय १४ जनाले अनुमति लिइसकेका छन् । अनुमति पाएका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।
पर्यटन विभागले २०८१ चैत तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । नेपालसहित ३१ मुलुकका नागरिकले सगरमाथा आरोहणको अनुमति लिएको विभागका निर्देशक आरती न्यौपानेले बताइन् ।
विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ । आरोहण गर्न चाहने र अनुमति लिनेबाट हालसम्म ३६ करोड ५८ लाख १५ हजार २७ रूपैयाँ राजस्व संकलन भएको छ ।
सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको हो । सगरमाथा आरोहणका लागि खुम्बुदेखि आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ । आइसफलका डाक्टरहरुले खुम्बु आइसफल हुँदै ‘रुट फिक्सिङ’ पूरा गरेको न्यौपानेले बताइन् ।
सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले बाटो बनाउने ‘आइसफल डाक्टर’ खटाएको थियो । यो सिजनका लागि १० जनाको टोली खटाइयो ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिने पर्यटन विभागले जनाएको छ । वसन्तकालीन यामममा सगरमाथासहित विभिन्न हिमाल र पिक आरोहणका लागि उल्लेख्य संख्यामा विदेशी पर्यटक नेपाल आउने गरेका छन् ।

























