
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा निस्किएका शिक्षकको आन्दोलन झन् चर्किने संकेत देखिएको छ ।
आन्दोलन मत्थर हुने कुनै संकेत देखिएको छैन । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारलाई थप दबाब दिन अर्को निर्णय लिएको छ । महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने र विद्यालय बन्द गर्ने निर्णय लिएको हो ।
महासंघको सोमबार बसेको बैठकले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा देशभरका शिक्षक र कर्मचारी सहभागी नहुने निर्णय गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरु निर्णायक संघर्षमा रहेको जानकारी दिए ।
उनले कक्षा १२ को परीक्षा सञ्चालन नगरिने र परीक्षा सञ्चालनका लागि कसैलाई पनि नखटाइने बताए । सरकारले भर्ना अभियान सुरु गरेको छ । नयाँ शैक्षिक सत्रको शुभारम्भ पनि भएको छ ।
तर, महत्वपूर्ण शैक्षिक अभियान चलिरहेका बेला शिक्षकहरु भने आन्दोलनमा छन् । परीक्षा सञ्चालन नगर्ने र विद्यालय बन्द गर्ने अडानसहित आन्दोलनमा होमिएका शिक्षकहरु माग पूरा नभएसम्म कार्यक्षेत्रमा फर्किने संकेत देखिँदैन ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु चैत २० गतेदेखि आन्दोलित बनेका छन् । शिक्षा ऐनको मस्यौदा सार्वजनिक नगरी सरकार एकपक्षीय ढंगबाट अघि बढेको भन्दै शिक्षकहरु थप आक्रोशित बनेका छन् ।
शिक्षकको सरुवा, बढुवा, नियुक्ति, पेसागत सुरक्षालगायतका विषय स्पष्ट नहुँदा सडकमा उत्रिनुपर्ने अवस्था आएको महासंघले जनाएको छ । महासंघले विद्यालय शिक्षा ऐन नआएसम्म संघर्ष नरोकिने र आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएको छ ।
लामो समयदेखि शिक्षकहरु आन्दोलनमा रहे पनि सरकारले अहिलेसम्म कुनै स्पष्ट प्रतिबद्धता जनाइसकेको छैन । यसअघि शिक्षामन्त्रीसहितको वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेन ।
राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने तयारी गरिरहेको छ । तर, शिक्षकहरू सहभागी नभएमा परीक्षा प्रभावित हुनसक्ने देखिन्छ ।
शिक्षकको आन्दोलनले नयाँ शैक्षिक सत्र, नयाँ भर्ना अभियान र परीक्षा प्रक्रिया सबै प्रभावित भइरहेको छ । सरकारले वार्ता र सहमतिबाट तत्काल समस्याको समाधान नखोजेमा शैक्षिक संकट उत्पन्न हुने सरोकारवाला बताउँछन् ।

























