
काठमाडौं । शिक्षकको आन्दोलन चर्किने भएपछि ३ जना मन्त्रीहरु छलफलमा जुटेका छन् ।
आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे मन्त्रीहरु बीच छलफल चलिरहेको छ । अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी रहेको हो ।
शिक्षकले विद्यालय शिक्षा ऐनको माग गर्दै चैत २० गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरु विद्यालय फर्किन मानिरहेका छैनन् । जसका कारण विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ ।
कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने चेतावनी शिक्षकहरुले दिइरहेका छन् । शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लिग मन्त्रीहरुको बैठक बसेको हो ।
अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने तयारी सरकारको छ । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने अडान शिक्षकहरुको छ ।

























