
काठमाडौं । चीनमा आज (बुधबार) बिहान ५ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न स्थानमा धक्का महसुस भएको छ ।
विशेष गरेर नेपालको उत्तरी क्षेत्रमा सबैभन्दा बढी भूकम्पको धक्का महसुस भएको छ । चीनको सिगात्सेस्थित दिङ्गी काउन्टी केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त स्थान नेपाल–चीन सीमा क्षेत्रमा पर्छ ।
काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन भएको छ । नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा आज बिहान ४ः५ बजेतिर भूकम्प गएको केन्द्रले जनाएको छ ।
उक्त स्थानमा यसअघि पनि बारम्बार भूकम्प गइरहेको छ । यसअघि २०८१ सालको पुस २३ गते ७ म्याग्निच्युडको र फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । परकम्पहरु पटकपटक गइरहेका छन् ।
पुस २३ को भूकम्प र त्यसपछिका ठूला परकम्पले सिगात्सेमा जनधनको क्षतिसमेत भएको थियो । नेपाल भूकम्पको जोखिमका दृष्टिले अति संवेदनशील मानिन्छ । जाजरकोट केन्द्रविन्दु भएर मंगलबार मात्रै २ पटक भूकम्प गएको छ ।

























