
काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजी (प्रहरी नायव महानिरीक्षक)लाई बिहीबार एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीसहित ६ जनाको नाम बढुवा सूचीमा परेको हो । अधिकारीको नाम बढुवा सिफारिस सूचीको ५ नम्बरमा छ । गृह मन्त्रालयले गरेको सिफारिसको १ नम्बरमा डीआईजी चन्द्रकुवेर खापुङको नाम छ ।
खापुङ र अधिकारीसहित डीआईजीहरु लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की र डा. मनोजकुमार केसी बढुवाको सिफारिसमा परेका छन् । सिफारिसमा पर्नेमध्ये अन्तिममा केसीको नाम छ ।
खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनीहरु आईजीपी (प्रहरी महानिरीक्षक) दीपक थापाकै ब्याजी हुन् ।
कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् । एआईजी बढुवामा ६ जनाको नाम सिफरिस भइरहँदा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा ल्याइएको टोली भने छुटेको छ ।
राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा गएकामध्ये डीआईजीहरु सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठलगायत बढुवाको प्रतिस्पर्धामा थिए । उनीहरुको नाम बढुवा सिफारिसमा परेन ।
उनीहरुलाई तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्का गृहमन्त्री भएका बेला नेपाल प्रहरीमा स्थानन्तरण गराइएको थियो । २०५८ पुस २५ गते ३० जना इन्स्पेक्टरसहित ४६ जनालाई नेपाल प्रहरीमा स्थान्तरण गरिएको हो ।
तर, राष्ट्रिय अनुसन्धानको टोलीभन्दा जुनियर रहेका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी एआईजी बढुवा सिफारिसमा परेका छन् । अहिले बढुवामा नपरेपछि राष्ट्रिय अनुसन्धानको टोलीले आईजीपी नपाउने लगभग पक्काजस्तै भएको स्रोतले बतायो ।
पछि कार्की, अधिकारी र केसीमध्ये १ जना आईजीपी बन्ने देखिन्छ । राष्ट्रिय अनुसन्धानको टोली २०५३ सालमा राष्ट्रिय अनुसन्धानमै इन्स्पेक्टरमा भर्ना भएका हुन् । कार्की, अधिकारी र केसी २०५४ सालमा इन्स्पेक्टरमा भर्ना भएका थिए ।

























