
विराटनगर । सुनसरीको इटहरीमा शनिबार राति कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० पानीपिया जंगलमा प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैं अनियन्त्रित भएर राति ११ बजेतिर दुर्घटनामा परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकबाट पूर्वतर्फ रहेको जामुनको रूखमा ठोक्किएर दुर्घटना भएको थियो ।

कारमा चालकसहित ४ जना सवार थिए । दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारकै क्रममा करिब डेढ घण्टापछि राउतको मृत्यु भएको खतिवडाले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । घाइतेहरुको बीपीमै उपचार भइरहेको छ । सामान्य उपचारपछि कार चालक लामालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
घटनास्थल तरहराबाट करिब ७ किलोटिमर उत्तरमा पर्छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेर कार पूर्णरूपमा क्षतिग्रस्त बनेको छ ।


























