प्रतीकात्मक तस्बिरविराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सृजना टोलको एउटा घरमा शनिबार राति आगलागी भएको छ । आगलागीमा परेर घरधनी वृद्धा घाइते भएकी छन् ।
आगोले जलेर स्थानीय ८० वर्षीया तुलामाया गुरुङ घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार वृद्धाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गुरुङको इँटाको गारो र जस्तापाताको छानो भएको १ तले पक्की घरमा राति ११ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी सुरु भए पनि तत्काल बाहिर निस्किन नसक्दा उनी घाइते भएकी हुन् । आगोले घरसहित घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, काठपात, फर्निचरका सामान सबै जलेर ध्वस्त भएको डीएसपी जोशीले बताए ।
उनका अनुसार आगलागीको कारण खुलेको छैन । यद्यपि, विद्युट सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप अनुसन्धानपछि आगलागीको कारण पत्ता लाग्ने जोशीले जनाए ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा करिब १ घण्टापछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । घटनामा करिब ४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा चौपाया क्षति भने भएन ।

























