
काठमाडौं । देशमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आज (सोमबार) आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्छ ।

























