
ताप्लेजुङ । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आज (सोमबार) बिहान आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सुरुमा प्रहरीले कम्तीमा ६ जनाको मृत्यु भएको हुनसक्ने अनुमान गरेको थियो । तर, अहिलेसम्म ४ जनाको घटनास्थलमै मृत्यु भएको पत्ता लागेको छ ।
फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिहान ४ः५० बजेतिर आगलागी भएको पत्रकार वसन्त लिम्बूले जानकारी दिए । उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।
‘बिजुलीको हाइटेन्सन लाइनको पोलबाट लत्रिएको तारले आगलागी भएको अनुमान छ । घटनास्थलमा ४ जनाको मृत्यु भएको छ । अरु २ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ । घटनास्थल फुङ्लिङ नगरपालिका–१० तेर्सेको सेवारो चोकमा पर्छ,’ लिम्बूले भने ।
घटनास्थलमै रहेका लिम्बूले दिएको जानकारी अनुसार घटनामा परेर जिप चालक फुङलिङ घर भएका ४२ वर्षीय दुर्गा भट्टराईसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । ‘तीर्थयात्रीहरु भने ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको पाइएको छ,’ लिम्बूले भने ।
प्रहरीका अनुसार आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएको र उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले घटनामा सविनकी छोरी १६ वर्षीया आध्या आचार्य, उनका माइतीतर्फका बुवा झापाको भद्रपुरका ७० वर्षीय विनोद पौडेल, आमा ६९ वर्षीया सरिता पौडेल तथा गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको जानकारी दिए ।
गम्भीर घाइते भएकी सविनाको शरीरको धेरै भाग जलेको छ । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको इन्स्पेक्टर बस्नेतले बताए ।


























