
विराटनगर । मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिका–५ देवीथानमा ईभी गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । १ जनाको अवस्था गम्भीर छ ।
भोजपुरबाट यात्रु लिएर सुनसरीको इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२९ नम्बरको ईभी आफैं अनियन्त्रित भएर आइतबार अपरान्ह ४ः३५ बजेतिर सडकबाट करिब २० मिटर तल खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ की ६५ वर्षीया वीरमाया तामाङ गम्भीर घाइते भएकी छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७ की २९ वर्षीया बेगना चेम्जोङ, ३६ वर्षीय तपिराज राई, रामप्रसाद राई गाउँपालिका–१ का ३६ वर्षीय किशोर तामाङ, भोजपुर नगरपालिका–७ का ४८ वर्षीय प्रवीनकमार सुवाल, झापाको बिर्तामोड नगरपालिका–७ का १६ वर्षीय विश्वास राई, बिर्तामोड–७ का ८५ वर्षीय कृष्णबहादुर राई, संखुवासभाको चैनपुर नगरपालिका–२ का २७ वर्षीय रमेश कार्की, सुनसरीको धरान उपमहानगरपालिका–३ का ३६ वर्षीय चिरञ्जीवी भट्टराई र मोरङको केराबारी गाउँपालिका–३ की २३ वर्षीया सुष्मा तामाङ घाइते भएका छन् । उनीहरु सबैको अवस्था समान्य छ ।
सबै घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ईभी चालक धनकुटाको महालक्ष्मी नगरपालिका–९ का ३६ वर्षीय प्रकाश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । गाडीको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

























