
विराटनगर । नुहाउने क्रममा सप्तकोशी नदीले बगाउँदा आज (सोमबार) बिहान मामा–भान्जा बेपत्ता भएका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका भान्जा १६ वर्षीय जेनिस आचार्य बेपत्ता भएका हुन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरुलाई बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर नजिकबाट बिहान ८ः४० बजेतिर सप्तकोशीले बगाएको हो ।
नुहाउने क्रममा सुरुमा भान्जालाई नदीले बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई जोगाउन जाँदा मामालाई पनि बगाएको हो । नदीले बगाएको आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएपछि प्रहरीले खोजी तीव्र पारेको छ । हालसम्म फेला पार्न नसकिएको डीएसपी खतिवडाले बताए । उनका अनुसार नेपाल र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेको छ ।

























