
विराटनगर । कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक अनुमतिपत्र (इडीएल) प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया सुरु गरिएको छ । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालयबाट आज (सोमबार) यो प्रणालीको औपचारिक सुरुवात गरिएको हो ।
उक्त सेवाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गरेका थिए । यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क अब लाइनमा बस्न नपरी, आफ्नै मोबाइल वा कम्प्युटरबाट सजिलै घरमै बसी अनलाइनमार्फत तिर्न सक्ने जनाइएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका यातायात शाखा प्रमुख नारायण भण्डारीले लाइसेन्सको आवदेन दिँदा, नवीकरण गर्दा र लाइसेन्ससम्बन्धी कुनै पनि शुल्क तिर्दा लाइन बस्नु पर्ने झन्झट हटेको बताए ।
नवीकरण गर्दा मन्त्रालयमा सूचिकृत भएका चिकित्सकसँग जाँच गराएपछि चिकित्सकले सोही साँझ अनलाइन अपडेट गर्ने र भोलिपल्ट भुक्तानी गरेर अनलाइनबाटै बिल लिन सकिने छ । आगामी साउनबाट भने प्रदेशमै लाइसेन्स छपाइ सुरु भएपछि लाइसेन्स लिनमात्रै कार्यालय पुग्नु पर्ने छ ।
प्रमुख भण्डारीका अनुसार प्रदेशका सबै यातायात कार्यालयहरुमा यो सेवा सुरु भएको छ । विराटनगरमा भने केही प्राविधिक समस्या देखिएको कारण भोलि (मंगलबार) देखि अनलाइन भुक्तानी प्रक्रिया सुरु हुने उनले जानकारी दिए ।

























