
विराटनगर । ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सविना पौडेल छोराछोरी र बुवाआमालाई लिएर प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा दर्शनका लागि आइतबार साँझ ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेकी थिइन् ।
अबेर पुगेर उनीहरु फुङलिङस्थित होटल प्यारिजमा बास बसे । सविनासँगै छोरा १० वर्षीय भविमय आचार्य, छोरी १६ वर्षीया आध्या आचार्य, माइतीका बुवा झापा भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल र आमा ६९ वर्षीया सरिता पौडेल थिए ।
बास बसेपछि सविनाले होटल सञ्चालक सविन बानियाँलाई बिहान काफ्लेपाटीसम्म पुग्ने गाडी व्यवस्थापन गरिदिन आग्रह गरिन् । सविनले आफ्नै बोलेरो जिप चलाउने गरेका फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराईसँग सम्पर्क गराइदिए ।
सोमबार बिहान मन्दिरमा पूजा गर्ने गरी पुग्ने र दिउँसो फर्किने योजना उनीहरुको थियो । चालक भट्टराई बिहान ३ बजेतिरै मे १ च ३०११ नम्बरको बोलेरो जिप लिएर होटलमा पुगे। सविनाको टोली तयारी भएर निस्किँदा ३ः३० जति भयो ।
फुङलिङ नगरपालिका–१० तेर्सेको सेवारो चोक भन्ने स्थानमा पुग्दा सडकमा खाल्डाखुल्डी थियो । वर्षौंदेखि त्यही रुटमा गाडी कुदाइरहेका चालक भट्टराईले सडकको खाल्डो छल्दै बिजुलीको खम्बा नजिकबाट गाडी अगाडि बढाए ।
बिजुलीको तार माथिबाट लत्रिएर झरेको पत्तै पाएनन् । हाइटेन्सन लाइनको करेन्ट प्रवाह भइरहेको तारले छुनसाथ गाडीमा विद्युत प्रवाह भयो । करेन्ट लागेपछि बिहान ५ बजेतिर गाडीमा आगो दन्किन थाल्यो । भित्र रहेकाहरुले ज्यान जोगाउनका लागि निस्किएर भाग्ने मौकासमेत पाएनन् ।
आगलागीमा परी चालक भट्टराईसहित सविनाका छोरी आध्या, बुवा विनोद र आमा सरिताको घटनास्थलमै मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलले बताए । जसोतसो सविना गाडीबाट ओर्लिन भ्याइन् भने छोरा भविमय अलि छिटो निस्किएकाले कम चोट लागेको छ ।
सविनाको शरीरका अधिकांश भाग जलेको छ । उनको अवस्था गम्भीर र छोराको सामान्य छ । ताप्लेजुङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि आमा–छोरालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको डीएसपी रावलले बताए ।
काठमाडौंको ह्याम्स अस्पतालमा चिकित्सक रहेका सविनाका पतिले हेलिकोप्टरबाट घाइते अवस्थाका पत्नी र छोरालाई काठमाडौं लगेका हुन् । पाथीभरा दर्शन गर्न आमाबुवा र छोराछोरीलाई लिएर गएकी सविनाले ठूलो घात बेहोर्नु परेको छ ।
परिवारमा ठूलो बज्रपात परेको छ । उनले छोरी र बुवा–आमा गुमाइन् । आफू पनि सिकिस्त घाइते भएकी छन् । छोरा सामान्य घाइते छन् ।
फुङलिङ–१० का वडाध्यक्ष सन्तोष लिम्बूले पाथीभराको काखमा दुःखद् घटना भएको बताए । ‘तीर्थयात्रा गर्न जाँदा यस्तो कहालीलाग्दो घटना भोग्नु पर्नेछ भन्ने कसले कल्पना गरेको हुन्छ ? तर, बिचरा बयान गर्नै नसक्ने गरिको पीडादायी घटना भयो । जो तीर्थयात्रीहरु पाथीभरा नपुगिकन बाटैमा अस्ताए,’ उनी भन्छन् ।
घटना हुनुमा विद्युत प्राधिकरण र सडकको गम्भीर लापरबाही देखिएको लिम्बूको भनाइ छ । विद्युत विस्तार गर्दा लत्रिएको तारले गाडीमा छुँदा दुर्घटना भएको उनी बताउँछन् ।
‘घटनाको प्रकृति हेर्दा विद्युत प्राधिकरणको लापरबाही देखिएको छ । पोलमा राम्रोसँग ‘बेन्डिङ’ नभएकाले तार लत्रिएर भुइँमा झरेको रहेछ । ‘बेन्डिङ’ मजवुत भइदिएको भए दुःखद् घटना हुँदैन थियो । यहाँ सडकको कमजोरी पनि देखियो । सडक विस्तारका क्रममा पानी जमेर खाल्डो भएको थियो । खाल्डो पुरेर सडक मिलाउने काम भएको रहेनछ । सडकको भित्तातर्फ २ फुटजति पानी जमेको पाइयो । त्यो खाल्डोबाट गाडीलाई तर्काउन खोज्दा लत्रिएर भुइँमा झरेको बिजुलीको तार गाडीको हुटमा अड्किएर घटना भएको पायौं,’ वडाध्यक्ष लिम्बू भन्छन् ।
गाडीमा आगो दन्किएको देखेर पाथीभरा मन्दिर जाँदै गरेका अरु तीर्थयात्रीले घाइतेहरुको उद्धार गरेको जानकारी उनले दिए । विद्युत प्राधिकरण र सडकको लापरबाहीका विषयमा जिल्ला प्रशासनसँग छलफलसमेत भएको उनले बताए । विद्युत प्राधिकरणसँग छलफल पनि भएको थियो ।
छलफलका क्रममा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचार हुनुपर्ने, मृतकका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने र मृतक जिप चालककी पत्नीलाई विद्युत प्राधिकरणमा रोजगारीको व्यवस्था गर्नुपर्ने विषय उठेको जानकारी वडाध्यक्ष लिम्बूले दिए । उनका अनुसार जिप चालक भट्टराईका परिवार उनीसँगै आश्रित थिए । ‘पत्नी र छोरा–छोरी छन् । जिप चालक भट्टराईले नै परिवार धान्दै आएका थिए,’ उनले भने ।
माग पूरा नभएसम्म जिप चालक भट्टराईको शव जिम्मा नलिने परिवार र आफन्तको अडान रहेको लिम्बू बताउँछन् । ‘सम्भवतः माग सम्बोधन हुन्छ होला । छलफल सकारात्मक भएको छ,’ उनले भने । उनका अनुसार जिप चालक भट्टराईबाहेक अरु मृतकको शवको पोस्टमार्टम भइसकेको छ ।
‘पोस्टमार्टम भइसकेका शव आफन्तले मंगलबार जिम्मा लिएर लैजाने तयारी गरेका छन् । जिप चालकको शव भने माग पूरा नभएसम्म पोस्टमार्टम गर्न नदिने तथा जिम्मा नलिने अडानमा आफन्त र परिवारका सदस्य छन्,’ वडाध्यक्ष लिम्बू भन्छन् ।
उनका अनुसार पछिल्लो समय ताप्लेजुङमा यस्ता घटना बढ्दै गइरहेका छन् । केन्द्रीय प्रशारण लाइन पुगेको ताप्लेजुङमा विद्युत विस्तारलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी लिम्बूले दिए ।

























