
सोलुखुम्बु । सगरमाथाको खुम्बु क्षेत्र यतिबेला पर्यटकले भरिभराउ भएको छ । पर्यटकमा विदेशी बढी छन् ।
खुम्बु क्षेत्रमा एकै दिन सोमबार ६ सय ९४ जना पर्यटक पुगेका छन् । जसमध्ये ६०८ विदेशी र ८६ जना नेपाली पर्यटक रहेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
कार्यालयका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ हुँदा चहलपहल पनि बढेको छ । होटलहरु भरिभराउ छन् । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठले नाम्चेको यात्रामा ६ सय ५२ विदेशी र १ सय ५१ नेपाली रहेको जानकारी दिए ।
वसन्तयाममा खुम्बु क्षेत्रमा पुग्दा संख्या धेरै भएर पर्यटकले बास नपाउने अवस्थासमेत बनेको छ । होटलहरु पहिले नै ‘बुक’ हुन थालेका छन् ।
सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको संख्या बढेको बताए । आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रहेको उनको भनाइ छ ।
तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान बढाइएको जानकारी दिए । पर्यटकको संख्या बढेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको र स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसरसमेत वृद्धि हुन थालेको टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको भनाइ छ । उनका अनुसार अहिले लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् ।
खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै राजस्व संकलन वृद्धि हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको भनाइ छ ।
उनका अनुसार सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार ५ सय र अन्य मुलुकका नागरिकलाई ३ हजार रूपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । नेपालीसँग प्रतिव्यक्ति १ सय रूपैयाँ लिने गरिएको छ ।
उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको रानाले बताइन् । अधिकांश पर्यटक काठमाडौं र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन् । त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने गरेका छन् ।



















