विराटनगरमा रामचरित्रलाई हाजिर हुन नदिने तयारी

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार १८:५३

विराटनगर । विराटनगर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका रामचरित्र मेहतालाई हाजिर हुन नदिने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा मेहताको नाम परेको थियो । सल्लाह नगरी मन्त्रालयले मनखुसी प्रमुख प्रशासकीय पठाएकाले मेहतालाई स्वीकार गर्न नसकिने मेयर नागेश कोइरालाले बताए ।

मेहता यसअघि सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा विवादमा तानिएका थिए । पटक–पटक विवादमा परेको भन्दै मेयर, उपमेयरसहितका जनप्रतिनिधिले उनलाई विराटनगर हाजिर हुन नदिने तयारी गरेका हुन् ।

मेहताले आफूसँग सहमतिसमेत नलिइ सरुवा मागेको र कार्यशैली ठीक नदेखिएकोले स्वीकार्न नसकिने मेयर कोइरालाले बताए । मन्त्रालयले समेत प्रमुख प्रशासकीय अधिकृत पठाउँदा एकपटक पनि समन्वयन नगरेको उनको गुनासो छ ।

आफूहरुलाई काम गर्ने कर्मचारी चाहिएको बताउँदै मेयर कोइरालाले ‘सेटिङ’मा प्रमुख प्रशासकीय पठाइएकाले चुप लागेर नबस्ने अडान लिए । विगत विवादित भएकाले मेहतालाई महानगर प्रवेशमा रोक लगाइने उनले बताए ।

‘प्रमुख प्रशासकीय अधिकृत पठाउँदा एक पटक हामीसँग त समन्वय गर्नु पर्छ नि । न मन्त्रालयले गर्यो । न त सचिवले नै,’ उनी भन्छन्, ‘मेयर र जनप्रतिनिधिसँग एक वचन पनि नसोध्ने ? अनि माथिबाट ‘सेटिङ’ गरेर पठाइदिएपछि हामीले स्वीकार्नु पर्ने ? हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक परेको छ ।’

विशेष गरेर मेहता इटहरीमा विवादित बनेकाले पनि विराटनगरमा स्वीकार गर्न गाह्रो परेको महानगरका कर्मचारीहरुको बुझाइ छ । ‘इटहरीमा हुँदा विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई अहिले फेरि विराटनगरको प्रमुख प्रशासकीय बनाएर पठाउने काम भयो । मेयर र उपमेयरसहितका जनप्रतिनिधिले खुलेर विरोध गरिरहेका छन्,’ एक कर्मचारीले भने ।

जनप्रतिनिधिहरुले बरु अरुलाई नै प्रमुख प्रशासकीय बनाएर पठाउनुपर्ने माग गरेका छन् । तर, प्रमुख प्रशासकीय पठाउन लाग्दा एक पटक भए पनि सोध्नुपर्ने उनीहरुको भनाइ छ । ‘यो मान्छेलाई पठाउन लाग्यौं । काम गर्न सकिन्छ कि सकिँदैन भनेर सोध्नु पर्दैन ?,’ मेयर कोइराला भन्छन्, ‘काठमाडौंबाट जे गरे पनि हामीले ठीक भन्नुपर्ने ? त्यो कदापि हुँदैन ।’

मेहता युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत थिए । मेहताले आफूलाई हाजिर हुन नदिने कुरा मिडियामा सुनेको भन्दै आश्चर्य व्यक्त गरे । ‘किन उहाँहरुले त्यस्तो कुरा गर्नु भयो ? मैले बुझ्न सकेको छैन । सरुवा मसँग जोडिएको विषय हैन । संघीय सरकारले गरेको हो,’ उनले भने ।

संघीय सरकारले दरबन्दी मिलान गरेकाले महानगरमा हाजिर हुन नदिने भन्ने कुरा नहुने मेहताको भनाइ छ । ‘म विराटनगरकै मान्छे हुँ । यहीँका लागि केही गर्नुपर्छ भन्ने लागेको छ । म विराटनगर हाजिर हुँदा कसैलाई केही अप्ठेरो हुन्छ होलाजस्तो लाग्दैन,’ उनले भने ।

आफ्नो सरुवालाई विवादित बनाउन खोजिएको गुनासो उनको छ । सरकारले नियम कानुन अनुसार सरुवा गरेकाले केही दिनमा रमाना बुझेर आफू विराटनगर हाजिर हुने मेहताले बताए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.