
काठमाडौं । मुलुकमा जनताको जित भएको दिनका रूपमा आज (बिहीबार) १९ औं लोकतन्त्र दिवस मनाइँदै छ । विशेष गरेर लोकतन्त्र प्राप्तिका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर यो दिवस मनाउने गरिन्छ ।
प्रजातान्त्रिक एवं लोकतान्त्रिक संघर्षबाट प्राप्त भएको उपलब्धिको रक्षाका लागि प्रत्येक वर्ष वैशाख ११ गते दिवस मनाइन्छ । लोकतन्त्र प्राप्त भएको खुसीयालीमा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ । मुलुकमा २०६२–०६३ को जनआन्दोलनबाट लोकतन्त्र आएको हो । जनआन्दोलन सफल भएर नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आजै हो ।
आन्दोलनबाटै मुलुकमा निरंकुशता हटेर शाही शासन ढलेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेर २०६३ वैशाख ११ गते गरेका थिए ।
त्यही दिन निरंकुशता पराजय भएको स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगन गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’
निरंकुशताको विरोधमा आन्दोलनरत ७ राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो । जनआन्दोलनको बलमा स्थापित लोकतन्त्रपछि भएका २ वटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो ।
सोहीबमोजिम संघ, प्रदेश र स्थानीय तहको २ पटक निर्वाचन भइसकेको छ । मुलुक संघीयताको अभ्यासमा रहिरँदा राजनैतिक अकर्मण्यताले भने संकट निम्त्याउन थालेको आभाष हुन्छ । राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा संघीयताको अभ्याससँगै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्नुपर्ने हो ।
तर, मुलुकमा व्यवस्थामाथि नै प्रश्न खडा हुने गरी र प्रतिगामीले टाउको उठाउने गरिको राजनैतिक हर्कतहरु भइरहेका छन् । लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयंगन गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएको छ । विसं २०६२–०६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरंकुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गतेदेखि लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
लोकतन्त्र दिवसका अवसरमा दल र नेताहरुले मुलुकको समृद्धिका लागि एकजुट हुन आह्वान गरेपनि उनीहरुको गतिविधि भने जनपक्षीय देखिँदैन । नेताहरुको गतिविधिले व्यवस्थामाथि प्रहार गर्नेलाई बल पुगिरहेको छ । अर्थात्, दलका नाममा हुने नेताहरुको गैरराजनीतिक हर्कतले लोकतन्त्र संकटमा पर्दै गएको अनुभूति हुन्छ । सरोकारवालाहरु लोकतन्त्र टिक्न र मजवुत हुनलाई नेताहरु सच्चिनुपर्ने सुझाव दिन्छन् ।

























