
काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको टर्की भ्रमण स्थगित भएको छ । टर्कीमा बुधबार गएको ६.२ म्याग्निच्युडको भूकम्पका भ्रमण रद्ध भएको हो ।
टर्कीको संवैधानिक अदालतको ६३ औं वार्षिकोत्सवका अवसरमा प्रधान न्यायाधीश राउत त्यहाँको भ्रमणमा जाने कार्यक्रम थियो । उनी टर्कीका प्रधान न्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा जान लागेका थिए ।
तर, भूकम्प गएपछि अन्तिम समयमा भ्रमण स्थगित भएको बताइएको छ । प्रधान न्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएपछि गत आइतबारदेखि नियमित सुनुवाइ भइरहेको ५२ संवैधानिक नियुक्ति विवादसम्बन्धी रिटहरूमाथिको सुनुवाइ रोकिएको थियो ।
उक्त रिटको पेशी वैशाख आगामी २८ गतेका लागि तोकिएको छ । भ्रमण स्थगित भए पनि प्रधान न्यायाधीशको इजलासमा कुनै पनि पेशी तोकिएको छैन ।

























