
काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको आज (शुक्रबार) १ दशक पूरा भएको छ । बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यद्यपि, त्यसयता सानातिना भूकम्प गइरहेका छन् । रुकुमपूर्वको रन्मामैकोट केन्द्रबिन्दु भएर बिहीबार साँझ ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ः३४ बजेतिर भूकम्प गएको हो । पछिल्लो समय पश्चिम नेपालमा लगातार स-साना भूकम्प गइरहेका छन् ।
गोरखा केन्द्रबिन्दु भएर ठीक १० वर्षअघि गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो क्षति गरेको थियो । त्यो भूकम्पमा परेर ८ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो । २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।
धेरै सर्वसाधारण घरबारविहीन बने । करोडौंका संरचनामा क्षति पुग्यो । २०७२ को त्यस भूकम्पपछि नेपालले भूकम्पप्रति सचेतना र तयारीमा केही कदम अघि बढाएको भए पनि पछिल्ला समयका साना भूकम्पहरूले जोखिम अझै बाँकी रहेको संकेत दिइरहेका छन् ।
२०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो । त्यसयता जाजरकोटलगायत पश्चिम क्षेत्रका थुप्रै ठाउँहरू केन्द्रबिन्दु बनाउँदै स–साना पराकम्पहरू गइरहेका छन् ।
यसैबीच, गोरखा भूकम्पको स्मृति दिवस आज मनाइँदै छ । त्यस अवसरमा देशभर विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै छ । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा आयोजना गरिने विशेष स्मृति कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने छन् ।
कार्यक्रममार्फत ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔं’ भन्ने सन्देश दिन लागिएको छ । धरहरा परिसरमा हुने कार्यक्रममा पुनःनिर्माण सम्पन्न संरचनाहरूको अवलोकन, भूकम्पसम्बन्धी जानकारीमूलक प्रदर्शनी र भूकम्प सुरक्षा योजनाहरूका बारेमा छलफलसमेत हुने जनाइएको छ ।
त्यस्तै, विभिन्न सरकारी निकाय, सामाजिक संस्था र स्थानिय तहहरूले जनचेतनामूलक र शिक्षाप्रद कार्यक्रमहरू मार्फत आजको दिनलाई अर्थपूर्ण बनाउन पहल गरेका छन् । विपद् सधैं पूर्वसूचना दिएर नआउने भए पनि तयारी र चेतनाले ठूलो क्षति रोक्न सकिन्छ भनेर जनचेतनामूलक कार्यक्रमहरु हुने गरेका छन् ।
विज्ञहरु भूकम्प स्मृति मात्रै नभएर निरन्तरको जोखिम पनि रहेको बताउँछन् । त्यसैले स्मृति दिवसलाई सिकाइ र सजगताको दिन बनाउन जरुरी रहेको उनीहरुको भनाइ छ ।

























