
काठमाडौं । दैनिक रूपमा बढ्दै गएको गर्मीसँगै आज (शुक्रबार) तराईका जिल्लामा तातो हावालको लहर चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो लहरको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव काममै छ । जसको प्रभावका कारण देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा बिहान आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका १–२ स्थानमा चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ ।
माथि उल्लेख गरिएको प्रदेशको हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

























