हरैँचाको स्थिति नियन्त्रणमा लिन हवाईफायर र अश्रुग्यास प्रहार, डीएसपी जोशी घाइते

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १८:०१

विराटनगर । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारको स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको छ ।

विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान १०ः५० बजेतिर ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनालगत्तै भिड जम्मा भएर विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध बनाउँदै प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बन्न पुग्यो ।

स्थितिलाई नियन्त्रणमा लिन मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी र अर्का डीएसपी मदन केशीको नेतृत्वमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो । विभिन्न युनिटबाट थप मद्धताका लागि प्रहरी लगियो । ठूलो संख्यामा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो ।

आक्रामक र उत्तेजित बनेको भिडले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर र ८ सेल अश्रुग्यास प्रहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार वरपरका करिब ४–५ सय जनाको भिडले घटनास्थलमा रहेको टिपर हटाउने क्रममा ढुंगामुढा गरेको थियो ।

मृतकको शवलाई सडकबाट उठाउन अवरोध गर्दै भिडले प्रदर्शन गर्दा अवस्था निक्कै बेरसम्म तनावपूर्ण बनेको हो । भाला र लाट्ठीसहित प्रदर्शनमा उत्रिएका स्थानीयले शव सडकमै राखेर प्रदर्शन गर्दै टिपरमा आगजनीको प्रयास गरेका थिए । निरन्तर ढुंगामुढा गरेका थिए ।

ढुंगा प्रहारबाट डीएसपी जोशी घाइते भएका छन् । टाउकोमा ढुंगाले लागेका उनको अवस्था सामान्य रहेको छ । उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

एसपी चिमरियाका अनुसार अवस्था नियन्त्रण बाहिर जान नदिन सामाय बल प्रयोग गरेर हवाईफायर र अश्रुग्यास प्रहार गर्नु परेको हो । सम्झाइबुझाइ गर्दा पार नलागेपछि स्थिति भड्किने देखेर बल प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

प्रहरीले बल प्रयोग गरेपछि भिड तितरबितर भएको थियो । त्यसपछि प्रहरीले समन्वय गरेर मृतकको शवलाई घटनास्थलबाट उठाउँदै पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । दिउँसो २ बजेपछि हरैँचा बजारको अवस्था सामान्य बनेको जानकारी एसपी चिमरियाले दिए ।

उनका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गरेका कारण करिब ३ घण्टा सवारीसाधन ‘डाइभर्ट’ गर्नु परेको थियो । सवारीसाधन ‘डाइभर्ट’ गर्न ट्राफिक प्रहरी परिचालन गरिएको थियो । मोटरसाइकललाई ठक्कर दिने टिपरलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ ।

सडकबाट शव उठाउन अवरोध गर्दै प्रदर्शनमा उत्रिएको भिडले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको आरोप लगाएको छ । स्थानीयले सडकमा टिपरको दादागिरी बढेको गुनासो गरेका छन् । टिपरको दादागिरी बन्द गर्नुपर्ने, उक्त सडकमा टिपर सञ्चालनमा रोक लगाउनुपर्ने, मृतकलाई क्षतिपूर्ति हुनुपर्ने, चालकमाथि कारबाही गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन भएको प्रहरीको भनाइ छ ।

गिट्टी लोड गरिएको टिपरको तीव्र गतिकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार कान्छाराम कन्स्ट्रक्सनको टिपर विराटनगरका अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीमा प्रयोग गर्दै आएको पाइएको छ ।

दुर्घटनालगत्तै प्रहरीले टिपर चालक बारा घर भइ मोरङको सुन्दरहरैँचा–१२ मा बस्दै आएका २५ वर्षीय पवन योन्जनलाई नियन्त्रणमा लिएको थियो । एसपी चिमरिया संयमता र सावधानी अपनाएर प्रहरीले सुरक्षा सतर्कता बढाएका कारण ठूलो क्षति हुन नपाएको बताउँछन् ।

‘कुनै पनि क्षति नहोस् भनेर प्रहरीले सावधानीका साथ काम गर्यो । घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि हरैँचा बजार तनावग्रस्त, टिपरका आगजनीको प्रयास

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.