
विराटनगर । प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) दर्शन गर्ने तीर्थयात्री बोकेर गएको जिपमा आगलागी भएर ४ जनाको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
पोलबाट लत्रिएको बिजुलीको तार अल्झिएर बोलेरो जिपमा आगलागी भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ४ सदस्यीय छानबिन समिति बनाएका हुन् । विद्युत विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका २ जना र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका १ जना प्रतिनिधि सदस्य छन् ।
घटनाको छानबिन गरेर तत्काल प्रतिवेदन पेस गर्न मन्त्री खड्काले निर्देशन दिएका छन् । समितिले दुर्घटना कसरी ? र के कारणले भएको हो तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन के उपाय अपनाउनुपर्छ ? भन्ने विषयलाई समेटेर विस्तृत विवरणसहितको प्रतिवेदन तयार पार्ने छ ।
यति ठूलो घटना हुँदा पनि छानबिन समिति गठन नगरिएको भनेर सरकारको आलोचना भइरहेको थियो । आलोचना बढ्न थालेपछि ऊर्जामन्त्री खड्काले घटनाको छानबिन गरेर यथार्थ पत्ता लगाउन समिति गठन गरेका हुन् ।
ताप्लेजुङ सदरमुकामबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको ना १ ज ३०११ नम्बरको जिप फुङ्लिङ नगरपालिका–१० तेर्सेको सेवारो चोकमा पुगेपछि विद्युतको तारमा अल्झिएर आगलागी भएको थियो । घटनामा जिप चालकसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जना घाइते भएका थिए ।

























