
काठमाडौं । मातातीर्थ औँसी आज (आइतबार) परेको छ । जन्मदाता आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरेर मुलुकभर यो औँसी मनाउने गरिन्छ ।
मातातीर्थ औँसीलाई चलनचल्तीको भाषामा आमाको मुख हेर्ने दिन पनि भनिन्छ । विशेष गरी ९ महिनासम्म गर्भमा बोकेर जन्मदिने तथा हुर्काउने आमाप्रति सम्मान व्यक्त गर्नु नै मातातीर्थ औँसीको विशेषता हो ।
प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्व मनाउने गरिन्छ । मीठामीठा खानेकुरा खान दिएर आमाप्रति उच्च सम्मान प्रकट गरिन्छ । मातातीर्थ औँसीमा आमाको मुख हेर्ने र आशीर्वाद लिने प्रचलन छ ।
बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्नुपर्छ भन्ने शास्त्रीय परम्परा रहेको छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराउँदै दिवंगत आमालाई सम्झने गर्छन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
सन्तानका लागि आमाको महत्व अरुभन्दा बढी हुन्छ । त्यही भएर जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाउनुपर्छ भन्ने चलन छ । दिवंगत आमाका नाममा भने श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भएर आशीर्वाद दिने शास्त्रीय मान्यता छ ।
आमालाई सम्मान गर्न कुनै विशेष दिन पर्खनु पर्दैन । तर, सांस्कृतिक परम्पराअनुसार आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन मातातीर्थ औँसी हो । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने भएकाले यो पर्वको निक्कै ठूलो महत्व छ ।
घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सञ्जालमा आमाको तस्बिर राखेर तथा ‘भिडियो कल’मा हेरेर र कुरा गरेर सम्मान भाव प्रकट गर्ने चलनसमेत छ ।
दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न विभिन्न स्थान तथा धार्मिक तीर्थस्थलहरुमा मातातीर्थ मेला लाग्ने गरेको छ । कतिपय दर्शनार्थीहरु अघिल्लै साँझ दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने गर्छन् । उनीहरुले बिहान सबेरै स्नान गरी पूजा गरेर आमालाई सम्झन्छन् ।
मेलामा सहभागी भएर कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ । आमा नभएकाहरुले सकेमा प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।
आमा नहुनेहरु मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

























