
काठमाडौं । शिक्षकको काठमाडौं केन्द्रीत आन्दोलनको रिपोर्टिङको क्रममा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएको घटनाको छानविन गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । घाइते पत्रकार कार्कीलाई भेटेर महासंघले यस्तो माग गरेको हो ।
महासंघकी अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतको टोलीले तिलगंगा अस्पताल पुगेर घाइते पत्रकार कार्कीको स्वास्थ्य अवस्था बुझेको थियो ।
महासंघकी अध्यक्ष निर्मला शर्माले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन र क्षतिपूर्ति दिन सरकारसँग माग गरिन् ।
महासंघले विज्ञप्ति जारी गर्दै नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।’

























